19/06/2026
"घाँटीमा अड्किएको हड्डीभन्दा ठूलो समस्या..."
केही दिनअघि एक जना बिरामी मातृशिशु मितेरी प्रादेशिक अस्पताल आइपुग्नुभयो।
घाँटीमा हड्डी अड्किएको थियो। खाना खान सकिरहनुभएको थिएन, पानी निल्न समेत गाह्रो भइरहेको थियो। यस्तो केस हाम्रो लागि नयाँ होइन। आवश्यक उपकरण र दक्ष जनशक्ति छ, सामान्य अवस्थामा हामीले सजिलै निकाल्न सक्छौँ।
तर समस्या हड्डी थिएन।
अपरेशन थिएटरको टेबलमा पुगेपछि रक्तचाप जाँच गरियो — २५०/१३० mmHg।
यस्तो अवस्थामा एनेस्थेसिया दिनु भनेको बिरामीलाई थप जोखिममा राख्नु हो। त्यसैले अपरेशन स्थगित गरियो। बिरामीलाई वार्डमा राखियो। IV औषधिबाट रक्तचाप नियन्त्रण गर्ने प्रयास गरियो। हामी सबै आशावादी थियौँ, "आज होइन भने भोलि त पक्कै नियन्त्रणमा आउला।"
तर BP नियन्त्रणमा आएन।
अन्ततः बिरामीलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (PAHS) रिफर गर्नुपर्यो।
हामीले सोचेका थियौँ, त्यहाँ सबै कुरा सहज हुनेछ।
तर त्यहाँ पनि ICU बेड उपलब्ध रहेनछ।
त्यसपछि बिरामीलाई गण्डकी मेडिकल कलेज पठाइयो।
तर त्यहाँबाट पनि भनियो —
"यदि प्रक्रियापछि कुनै जटिलता आयो भने हामी सम्हाल्न सक्ने अवस्थामा छैनौँ। काठमाडौं लैजानु नै उचित हुन्छ।"
अनि सुरु भयो एउटा गरिब परिवारको अर्को संघर्ष।
दैनिक ज्यालादारी गरेर परिवार पाल्ने मानिस, घाँटीको एउटा हड्डी निकाल्न, पोखरा, गण्डकी र अन्ततः काठमाडौं धाउन बाध्य भए।
बसभाडा, बसाइ, खाना, उपचार खर्च...
एकपछि अर्को खर्च।
एउटा सामान्य प्रक्रियाका लागि एउटा परिवार आर्थिक रूपमा टुट्नुपर्ने किन?
किनकि मातृशिशु मितेरी प्रादेशिक अस्पतालमा ICU सुविधा छैन।
हामीसँग सेवा गर्ने इच्छा छ। दक्ष जनशक्ति छ। काम गर्ने सीप छ।
तर ICU नहुँदा हामी बिरामीलाई बचाउन सक्ने क्षमताका बाबजुद रिफर गर्न बाध्य छौँ।
यो पीडा बिरामीको मात्र होइन, हाम्रो पनि हो।
बिरामीलाई आफ्नै अस्पतालमा उपचार गर्न सकिने अवस्था हुँदाहुँदै, सिर्फ ICU नहुँदा टाढा पठाउनुपर्दा, हामी चिकित्सक र स्वास्थ्यकर्मीहरू पनि भित्रभित्रै हारिरहेको महसुस गर्छौँ।
प्रदेश सरकारलाई एउटा प्रश्न —
अझै कति बिरामीले दुःख पाउनुपर्छ?
अझै कति परिवारले ऋण बोक्नुपर्छ?
अझै कति पटक हामीले भन्नुपर्छ —
"हामीसँग क्षमता छ, तर ICU छैन।"
यो घटनाले अर्को महत्वपूर्ण कुरा पनि सिकाउँछ —
स्वास्थ्य बीमा विकल्प होइन, आवश्यकता हो।
यदि यो बिरामी स्वास्थ्य बीमामा आबद्ध भएको भए, काठमाडौंसम्म पुग्दा लाग्ने ठूलो खर्चले उनको परिवारलाई यति धेरै आर्थिक भार नपार्न पनि सक्थ्यो।
त्यसैले मेरो सानो आग्रह —
हरेक सरकारी कार्यालयले आफ्ना स्थायी, अस्थायी र दैनिक ज्यालादारी कर्मचारी सबै स्वास्थ्य बीमामा आबद्ध छन् कि छैनन् भन्ने सुनिश्चित गरोस्।
किनकि रोगले न जागिर हेर्छ, न आर्थिक अवस्था।
आज यो परिवारको कथा हो, भोलि हामीमध्ये जो कोहीको हुन सक्छ।
र त्यो दिन, हामीलाई एउटा जिम्मेवार स्वास्थ्य प्रणालीको आवश्यकता पर्नेछ।
#मातृशिशु_मितेरी_प्रादेशिक_अस्पताल ाव #प्रदेश_सरकार #स्वास्थ्यबीमा #गरिबको_स्वास्थ्य