07/07/2026
सूर्यमतीले पाँच वर्षको लामो पर्खाइपछि पहिलो पटक सूर्योदय देखिन्। दुवै आँखामा मोतियाविन्दु भएकै कारण उनी दृष्टिविहीन जीवन बाँचिरहेकी थिइन्। उनमा रहेको अन्य स्वास्थ्य समस्याका कारण तत्काल शल्यक्रिया पनि सम्भव भइरहेको थिएन। उपचारका लागि विज्ञसम्म पुर्याउन उनको परिवारसँग आर्थिक स्रोत पनि थिएन। जब तिलगंगा आँखा अस्पतालको टोली आउटरिच माइक्रोसर्जिकल क्याम्प लिएर डिसेम्बर २०२५ मा लुम्बिनी पुग्यो तब उनको पाँच वर्षको पर्खाइले सार्थकता पायो। उनको धुमिल संसार एकाएक सग्लो भयो। सूर्यमतीका आँखाबाट खुशी छचल्किए। त्यो खुशी उनका छोरीहरू र सम्पूर्ण मेडिकल टोलीको आँखामा पनि देखियो।