27/08/2026
आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू,
बुधबार बिहान नेपाल र चीनको सिमाना भई बग्ने लेहेन्दे खोलामा अकस्मात् आएको विनाशकारी बाढी भोटेकोशी र त्रिशुली नदीमा मिसिएर भयाभह विनाश गरेसँगै यतिबेला सिंगो देशलाई स्तब्ध र मर्माहत बनाएको छ। यस अकल्पनीय प्राकृतिक विपत्तिले रसुवा, नुवाकोट, धादिङ र गोरखामा अकल्पनीय क्षति भएको छ। बाढीको भेलमा परेर हाम्रा सयौं दाजुभाइ, दिदीबहिनी तथा थुप्रै विदेशी पाहुनाहरू सम्पर्कविहीन भएको अत्यन्तै हृदयविदारक खबरले मन छियाछिया भएको छ।
हिजोको त्यो त्रासदीका कारण निमेषभरमै कैयौं बस्तीहरू बगे, कैयौंका घरहरू भत्किए, सडक भासिए अनि गाउँ जोड्ने पुलहरूसँगै धेरैको जीवनको डोरो पनि चुँडियो। यस क्रूर विपत्तिमा परी अकालमै ज्यान गुमाउनुहुने सम्पूर्ण ज्ञात-अज्ञात आत्माहरूको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। शोकाकुल परिवारजनमा यो असीम पीडा सहन सक्ने धैर्य प्राप्त होस् भनी गहिरो समवेदना प्रकट गर्दछु। साथै, बेपत्ता हुनुभएका सम्पूर्ण नागरिकहरू सकुशल आफ्ना प्रियजनको सम्पर्कमा आउन सकून् भनी प्रार्थना गर्दछु।
यो महाविपत्तिको घडीमा अब हामी सबै नेपालीले एउटै मुटु र एउटै ढुकढुकी भएर उजाडिएका बस्तीहरू फेरि बसाउनु छ, भत्किएका पर्खालहरू उठाउनु छ र बाढीले चुँडाएका मनहरूलाई स्नेहले गाँस्नु छ। दुःखको यो पहाड पन्छाउन 'प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष'मा आफ्नो गच्छेअनुसारको सहयोग गरी मानवताको धर्म निभाउन म सबैमा हार्दिक अपिल गर्दछु।
नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठानले राहत, उद्धार र पुनर्स्थापनामा केही सहयोग पुग्ने अपेक्षासहित एक करोड एक लाख एक रुपैयाँ र कर्मचारीहरुबाट एक दिन बराबरको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने र प्रभावित क्षेत्रका घाइते बिरामीहरुको आँखा सम्बन्धी निःशुल्क उपचार गर्ने निर्णय गरेका छौं।
अहिलेको अत्यन्तै संवेदनशील अवस्थामा सबैले संयम अपनाऔं र गलत सूचना वा अफवाहहरू फैलिन नदिऔं।
एकजुट होऔं, यो महाविपत्तिलाई हामी मिलेरै पार लगाउँ।
धन्यवाद
डा. सन्दुक रुईट