20/09/2026
शरद ऋतु (Sharad Ritu)
आयुर्वेदअनुसार शरद ऋतु असोज देखि कार्तिक अन्निम सम्म रहन्छ। नेपालमा मनसुन सकिएपछि दशैँ–तिहारको समय यही ऋतुमा पर्छ।
वर्षायामको ओसिलो वातावरणका कारण शरीरमा सञ्चित भएको पित्त शरद ऋतुको चर्को घाँमले अझ बढाउछ। यस समयमा शरीरलाई शीतल राख्ने, हल्का तथा सजिलै पच्ने खाना खाने र दैनिक जीवनशैलीलाई सन्तुलित बनाउने कुरामा विशेष ध्यान दिनुपर्छ।
दैनिक दिनचर्या
🌅 बिहानको दिनचर्या
• सूर्योदय हुनुअघि उठ्ने बानी बसाल्नुहोस्।
• रातभर तामाको वा माटोको भाँडामा राखिएको पानीलाई ‘हंसोदक’ भनिन्छ, जुन यस ऋतुमा हल्का र शुद्धीकरणका लागि उपयोगी मानिन्छ।
• तोरी, तिल तेलजस्तो तेलको सट्टा नरिवल वा सूर्यमुखीको तेल प्रयोग गर्न सकिन्छ।
• चन्दन वा खसको लेप निधार र छातीमा लगाउने।
• नुहाउँदा चिसो वा मनतातो पानी प्रयोग गर्नुहोस्। धेरै तातो पानीबाट नुहाउन सकेसम्म बच्नुहोस्।
☀️ दिउँसोको दिनचर्या
• बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्मको चर्को घाँमबाट सकेसम्म जोगिनुहोस्। शरद ऋतुको घाँम हेर्दा सामान्य लागे पनि यसले शरीरमा पित्त बढाउन सक्छ।
• दिउँसोको समयमा, जब पाचनशक्ति राम्रो हुन्छ, दिनको मुख्य भोजन गर्नु उपयुक्त हुन्छ।
🌿 दिउँसोपछि
• दिउँसो सुत्ने बानीबाट बच्नुहोस्। आयुर्वेदअनुसार यस समयमा सुत्दा पाचनमा असर पर्न सक्छ र कफ बढ्न सक्छ।
• शरीरलाई आराम दिनुहोस्, तर अत्यधिक निष्क्रिय भएर नबस्नुहोस्।
🌙 साँझको दिनचर्या
• सम्भव भए केही समय चन्द्रमाको शीतल प्रकाशमा बस्नुहोस्।
• सेतो वा हल्का रङका सुती कपडा लगाउनुहोस्।
• हल्का हिँड्डुल, सहज योगासन र शीतली वा चन्द्रभेदनजस्ता प्राणायाम गर्न सकिन्छ।
• साँझपख शरीरलाई अत्यधिक तातो बनाउने कडा व्यायामबाट बच्नुहोस्।
🌜 रातिको दिनचर्या
• रातिको खाना हल्का राख्नुहोस् र सकेसम्म बेलुका ८ बजेसम्म खाइसक्नुहोस्।
• राति १० बजेसम्म सुत्ने बानी बसाल्नुहोस्।
• सुत्ने कोठा सहज र शीतल राख्नुहोस्, तर चिसो हावा वा शीत सिधै शरीरमा पर्ने गरी नसुत्नुहोस्।
शरद ऋतुमा खानपान
यस ऋतुमा आयुर्वेदले मधुर (गुलियो), तिक्त (तीतो) र कषाय (टन्निनयुक्त वा कसिलो स्वाद) भएका, सजिलै पच्ने र शरीरलाई शीतलता दिने खानेकुरा खानुहोस्।
🥗 खानामा समावेश गर्न उपयुक्त खानेकुरा
• पुरानो चामल, गहुँ, जौ, मुगको दाल र मसुरोको दाल।
• घिउ, विशेषगरी तीतो जडीबुटीबाट तयार गरिएको घिउ (तिक्त घृत)।
• अमला, अनार, अङ्गुर, स्याउ, नासपाती, केरा, उखु र नरिवलको पानी।
• करेला, परवल, लौका, फर्सी र हरियो सागसब्जी।
• मिश्री, थोरै मात्रामा मह, मुलैठीको चिया तथा धनियाँ–सौँफको पानी।
• मासु खाने व्यक्तिका लागि हल्का मासु, जस्तै कुखुरा, टर्कि, खोलाको माछा, खरायो, भैसी, मृगको मासु, तुलनात्मक रूपमा उपयुक्त मानिन्छ।
⚠️ कम गर्नुपर्ने वा सकेसम्म बच्नुपर्ने खानेकुरा
• दही: शरद ऋतुमा दही कम गर्न आयुर्वेदले विशेष जोड दिएको छ। खान मन लागेमा पानी मिसाएर पातलो बनाएको मोहीमा अलिकति जिरा राखेर लिन सकिन्छ।
• धेरै अमिलो र नुनिलो खानेकुरा, अचार कम गर्नु पर्छ।
• धेरै पिरो, चिल्लो र तारेर बनाइएका खानेकुरा।
• मदिरा, विशेषगरी धेरै मात्रामा सेवन गर्ने बानी।
• तेलमा तारेर बनाएको रोटि।
• गह्रौँ रातो मासु।
• राति धेरै खाना खाने र अघिल्लो खाना राम्ररी नपच्दै फेरि खाने बानी।
नेपालमा दशैँ–तिहारको समयमा ध्यान दिनुपर्ने कुरा
दशैँ र तिहार शरद ऋतुमै पर्ने भएकाले यो समय हाम्रो खानपान र जीवनशैलीका हिसाबले पनि विशेष हुन्छ। चाडपर्वमा खसीको मासु, तारेको सेलरोटी, दही र मदिराजस्ता परिकार बढी खाने चलन छ। तर आयुर्वेदको शरद ऋतुचर्याअनुसार यीमध्ये धेरै खानेकुरा सीमित मात्रामा खानु उपयुक्त हुन्छ।
यसको अर्थ चाडपर्वमा मनपर्ने परिकार खानै हुँदैन भन्ने होइन। आफ्नो स्वास्थ्य र पाचनशक्तिको ख्याल गर्दै सन्तुलित रूपमा खानु नै मुख्य कुरा हो।
• चाडपर्वका परिकार थोरै मात्रामा खानुहोस्।
• गह्रौँ खाना रातिको सट्टा दिउँसो खानुहोस्।
• धेरै खाएको भोलिपल्ट आफ्नो पाचनशक्तिअनुसार हल्का खिचडी वा सजिलै पच्ने खाना खान सक्नुहुन्छ।
• शरीरलाई पर्याप्त आराम दिनुहोस् र हल्का हिँडडुललाई निरन्तरता दिनुहोस्।
🌿 शरद ऋतुमा विरेचन कर्म
आयुर्वेदका शास्त्रीय ग्रन्थहरूमा शरद ऋतुमा विरेचन कर्मलाई मौसमी शुद्धीकरणका रूपमा उल्लेख गरिएको छ। विरेचन पित्तसँग सम्बन्धित दोषको व्यवस्थापनका लागि प्रयोग गरिने आयुर्वेदिक चिकित्सकीय प्रक्रिया हो।
तर विरेचन घरमै आफैँले गर्ने प्रक्रिया होइन। यसका लागि आफ्नो प्रकृति, विकृति, स्वास्थ्य अवस्था र पाचनशक्तिको मूल्याङ्कन आवश्यक हुन्छ। यदि तपाईं विरेचन गराउने सोचमा हुनुहुन्छ भने पहिले योग्य आयुर्वेद चिकित्सकसँग परामर्श गर्नुहोस्।