15/06/2026
ध्यानाकर्षण सम्बन्धमा ।
हाल विभिन्न संचार माध्यमहरुमा यस अफिन सदस्य संस्थामा कार्यरत चिकित्सकले प्रदान गर्नुभएको चिकित्सकीय सेवाहरुप्रति प्रश्न उठाएर प्रचार प्रसार भएको विषयमा अफिन गण्डकीको गम्भिर ध्यानाकर्षण भएको छ ।
स्वास्थ्य संस्थामा चिकित्सकले दिने विशिष्टीकृत सेवाको उचित पारिश्रमिक लिने अधिकार हुन्छ । उक्त सेवाका लागि चिकित्सक तथा स्वास्थ्य संस्थाले बिरामी र बिरामीको पक्षलाई उपचारको किसिम, जटिलता तथा लाग्ने शुल्कको बारेमा पूर्व जानकारी दिई उपचार गरे पछि यही विषयलाई तोडमरोड गरेर संचार माध्यममा आउनु एकदमै दुःखद कुरा हो भन्ने अफिनको ठहर छ ।
यसरी उपचारमा संलग्न चिकित्सक तथा अस्पतालको परिचय खुलाउने गरी एकतर्फी रुपमा दुवै पक्षको राय धारणा तथा तथ्य खोज नगरी चिकित्सक र स्वास्थ्य संस्थाको बदनामी हुने गरी समाचार सम्प्रेषण हुनाले झन् बिरामी, जनमानस, चिकित्सक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था बिचको सम्बन्धमा नराम्रो असर पर्ने निश्चित छ ।
यसका साथ साथै स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले आ–आफ्नो पेशागत मर्यादा कायम गरी कसैको बारेमा टिप्पणी नगर्नु हुन समेत अपिल गर्दछु ।
कपिल पोखरेल
अध्यक्ष
अफिन गण्डकी