08/16/2026
प्रेस विज्ञप्ति
श्री सन्तोष पहारीलाई एनआरएनए मेडिहेल्थ सेन्टरको जिम्मेवारीबाट हटाइएको सम्बन्धमा
एनआरएनए मेडिहेल्थ सेन्टर लामो समयदेखि बन्द रहेको अस्पताललाई पुनः सञ्चालन गरी सर्वसाधारण तथा स्थानीय समुदायलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने पवित्र सामाजिक तथा मानवीय उद्देश्यका साथ अघि बढाइएको गैरराजनीतिक अभियान हो।
यस अभियानलाई संस्थागत रूपमा प्रभावकारी, पारदर्शी र जिम्मेवार ढंगले सञ्चालन गर्न पदाधिकारी तथा सदस्यहरूलाई स्पष्ट जिम्मेवारी प्रदान गरिएको छ। जिम्मेवारी प्राप्त गर्ने प्रत्येक व्यक्तिबाट संस्थाको उद्देश्यप्रति पूर्ण प्रतिबद्धता, नियमित सम्पर्क तथा समन्वय, सक्रिय सहभागिता, संस्थागत अनुशासन र गैरराजनीतिक आचरण अपेक्षित हुन्छ।
एनआरएनए मेडिहेल्थ सेन्टरको वरिष्ठ उपाध्यक्ष तथा विभागीय प्रमुखको जिम्मेवारीमा रहनुभएका श्री सन्तोष पहारीज्यूसँग संस्थागत विषयमा आवश्यक समन्वय तथा सम्पर्क कायम गर्ने पटक–पटक प्रयास गरिएको भए पनि पछिल्लो समय अपेक्षित रूपमा सम्पर्क, समन्वय र सक्रिय सहभागिता हुन नसकेको अवस्था देखिएको छ। महत्वपूर्ण जिम्मेवारीमा रहेर संस्थागत गतिविधिमा आवश्यक समय र सक्रियता उपलब्ध हुन नसक्नु संस्थाको कार्यसम्पादनका दृष्टिले गम्भीर विषय हो।
यसैबीच, श्री पहारीज्यूले नेपाली जनसम्पर्क समिति अमेरिकाको निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी दिनुभएको जानकारी प्राप्त भएको छ। नेपाली जनसम्पर्क समिति राजनीतिक प्रकृतिको संगठन भएकाले त्यस्तो राजनीतिक संगठनको निर्वाचनमा उम्मेदवार रहँदा एनआरएनए मेडिहेल्थ सेन्टरको गैरराजनीतिक चरित्र, संस्थागत निष्पक्षता र सार्वजनिक विश्वासमा अनावश्यक प्रश्न उठ्न सक्ने अवस्था सिर्जना भएको छ।
एनआरएनए मेडिहेल्थ सेन्टर कुनै राजनीतिक संगठन वा राजनीतिक प्रतिस्पर्धाको मञ्च होइन। यो २५ वर्षदेखि बन्द रहेको अस्पताल पुनः सञ्चालन गर्ने, स्वास्थ्य सेवाबाट वञ्चित समुदायलाई सेवा पुर्याउने र सामाजिक उत्तरदायित्व पूरा गर्ने अभियान हो। त्यसैले संस्थाको नेतृत्व तथा जिम्मेवारीमा रहने व्यक्तिले व्यक्तिगत, राजनीतिक वा अन्य प्राथमिकताभन्दा संस्थाको उद्देश्य र जिम्मेवारीलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने हुन्छ।
जिम्मेवारीबाट मुक्त गर्ने निर्णय उपरोक्त सम्पूर्ण परिस्थितिको समीक्षा तथा संस्थागत हितलाई मध्यनजर गर्दै मिति १४ अगस्ट २०२६ देखि श्री सन्तोष पहारीज्यूलाई एनआरएनए मेडिहेल्थ सेन्टर कमिटीको वरिष्ठ उपाध्यक्ष तथा विभागीय प्रमुखलगायत उहाँलाई प्रदान गरिएका सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरिएको जानकारी गराइन्छ।
यो निर्णय कुनै व्यक्तिगत आग्रह, पूर्वाग्रह, राजनीतिक प्रतिशोध वा व्यक्तिविशेषप्रतिको असहमतिको आधारमा गरिएको होइन। संस्थाको गैरराजनीतिक चरित्र, संस्थागत अनुशासन, जिम्मेवारीप्रतिको उत्तरदायित्व, पारदर्शिता तथा अस्पताल पुनः सञ्चालन अभियानको मूल उद्देश्यलाई संरक्षण गर्ने संस्थागत आवश्यकताका आधारमा यो निर्णय गरिएको हो।
श्री पहारीज्यूको जिम्मामा रहेका एनआरएनए मेडिहेल्थ सेन्टरसँग सम्बन्धित कागजात, सूचना, सम्पर्क विवरण, डिजिटल सामग्री, संस्थागत अभिलेख वा अन्य कुनै सामग्री भएमा सम्बन्धित जिम्मेवार पदाधिकारीलाई यथाशीघ्र हस्तान्तरण गरी संस्थागत प्रक्रिया पूरा गर्न अनुरोध गरिन्छ।
एनआरएनए मेडिहेल्थ सेन्टर सबै सहयोगी, शुभेच्छुक, दाता, सामाजिक अभियन्ता तथा सम्बन्धित संस्थाहरूलाई कुनै पनि व्यक्तिगत वा राजनीतिक विवादभन्दा माथि उठेर “बन्द अस्पताल पुनः सञ्चालन—समुदायका लागि स्वास्थ्य सेवा” भन्ने मूल उद्देश्यमा एकजुट हुन हार्दिक आह्वान गर्दछ।
संस्था व्यक्तिभन्दा ठूलो हुन्छ, उद्देश्य पदभन्दा ठूलो हुन्छ, र सामाजिक सेवा कुनै राजनीतिक प्रतिस्पर्धाभन्दा माथि हुन्छ।
धन्यवाद।
माधव मरासिनी
अध्यक्ष
एनआरएनए मेडिहेल्थ सेन्टर